images
images

मन्त्रिपरिषद् निर्णय: सुरक्षा निकायमा बढुवा र बजेट विधेयक स्वीकृत

२१ जेठ, काठमाडौं — सरकारले नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ। साथै, दसजना महासेनानीहरूको सरुवा र एकजनाको राजीनामा स्वीकृत गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका अन्य निर्णयहरू सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्यसहितको राजस्व र खर्चको अनुमान संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिइएको जानकारी दिए। सो बजेट कार्यान्वयनका लागि संघीय सञ्चित कोषबाट खर्च विनियोजनसम्बन्धी विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक प्रस्ताव कार्यान्वयनसम्बन्धी विधेयक, सामयिक कर असुल ऐनअनुसार सूचित आदेश तथा भन्सार महसुल ऐनअनुसार सूचना जारी गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै, सरकारले मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, आयकर, भन्सार तथा मदिरासम्बन्धी विभिन्न संशोधन नियमावलीहरू स्वीकृत गर्दै ती सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ। साथै, सरकारले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति सम्बन्धी विधेयकको तर्जुमा गर्न सिद्धान्त स्वीकृति दिएको छ।

सरकारले आगामी दिनमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय पनि गरेको छ। जसअनुसार अष्ट्रियाको भियनामा हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिव, थाइल्याण्डको बैंककमा हुने ‘ह्याण्ड इन ह्याण्ड इन्भेष्टमेन्ट डाइलग फर एशिया एण्ड द प्यासिफिक’ कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, जर्मनीमा हुने युएन क्लाइमेट चेन्ज कन्फ्रेन्स एसबी ६२ मा वन तथा वातावरण मन्त्रालयका सचिव र चीनको बेइजिङमा हुने सम्मेलनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई सहभागी हुन स्वीकृति दिइएको छ।

प्रतिक्रिया दिनुहोस्