images
images

यातायात व्यवसायी र सरकारबीच सहमति, सेवा पुनः सञ्चालनमा

काठमाडौँ । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन् ।

मंगलबार यातायात व्यवसायी महासंघ र गण्डकी प्रदेश सरकारबीच भएको सकारात्मक वार्तापछि लामो समयदेखि बन्द रहेका यातायात सेवा पुनः सञ्चालनमा आएको छ। मंगलबार साँझ गण्डकी सरकारले विवादित राइड सेयरिङ एपसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि व्यवसायीहरूले पनि आफ्नो आन्दोलन फिर्ता लिने सहमति जनाएका छन्।

यसअघि गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपलाई लक्षित गरी नयाँ नियमावली सार्वजनिक गरेको थियो, जसलाई गलबार यातायात व्यवसायी महासंघले अस्वीकार गर्दै विरोधको सुरुवात गरेको थियो। व्यवसायीहरूले नियमावलीले उनीहरूको व्यवसायमा ठूलो असर पर्ने भन्दै विभिन्न विरोध प्रदर्शन र आन्दोलनहरू गरेका थिए।

तर मंगलबारको वार्तामा दुबै पक्षबीच सहमति भएपछि सरकारले नियमावली कार्यान्वयनमा रोक लगाएको छ। यसले व्यवसायीहरूलाई अस्थायी राहत दिएको छ र यातायात सेवाहरू नियमित रूपमा सञ्चालनमा फर्किएका छन्। व्यवसायी महासंघले पनि जनसाधारणलाई असुविधा नहोस् भनी आफ्नो प्रदर्शन फिर्ता लिएको जनाएको छ।

यात्रुहरूलाई लामो समयदेखि परेको समस्या समाधान भएकोमा स्थानीयहरूले खुसी व्यक्त गरेका छन्। साथै, वार्ताबाट निकालेको यो समाधानले आगामी दिनमा यातायात क्षेत्रसँग सम्बन्धित विवादहरूको समाधानमा पनि नयाँ उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। सरकार र व्यवसायीबीचको संवाद जारी रहने र दुवै पक्षले साझा हितमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्