काठमाडौँ, ४ जेठ — देशको पश्चिमी र मध्य भूभागमा हाल पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएका छन् भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने कोशी प्रदेशमा मनसुन विस्तार भइसकेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने देखिएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। कोशी र मधेसमा भारी वर्षा हुने, तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।










प्रतिक्रिया दिनुहोस्