चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन उम्मेदवारीसम्बन्धी स्पष्ट मापदण्ड सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न पाउने छैन।
आयोगका प्रमुख भुवन केसीका अनुसार कुनै उम्मेदवारको प्रस्तावक बनेको व्यक्तिले अर्को उम्मेदवारको मनोनयन फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाउने व्यवस्था गरिएको छ। त्यस्तै, एक उम्मेदवारको समर्थक बनेको व्यक्तिले अर्को उम्मेदवारको समर्थक बन्न पनि पाउने छैन।
निर्वाचन आयोगले सभापति पदका उम्मेदवारका लागि विशेष व्यवस्था गरेको छ। सभापति पदमा उम्मेदवारी दिने व्यक्तिले मनोनयन फारमसँगै एक जना प्रस्तावक र कम्तीमा ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर पेश गर्नुपर्नेछ।
यस्तै, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थकसहितको मनोनयन फारम बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
आयोगले नियमविपरीत पेश गरिएका उम्मेदवारी फाराम स्वतः अमान्य हुने चेतावनी दिएको छ। साथै, कुनै उम्मेदवारका प्रस्तावक वा समर्थक बनेका व्यक्तिले स्वयं पार्टीको कुनै पदमा उम्मेदवारी दिन नपाउने पनि स्पष्ट पारिएको छ।
रास्वपाको महाधिवेशनअन्तर्गत आज बन्दसत्र सञ्चालन हुने र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गरिने भएकाले निर्वाचनसम्बन्धी गतिविधि थप चासोको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्