images
images

सीमा विवाद र सुकुम्बासी व्यवस्थापनबारे संसदमा चर्कियो बहस

काठमाडौँ  । प्रतिनिधिसभाको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर सांसदहरूले स्पष्टिकरण माग गरेका छन् भने विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको व्यवस्थापनबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको सुरुमै समय लिएर बोल्दै श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरे। साथै, प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी धारणा स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संविधानअनुसार सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्मै आएर स्पष्टीकरण दिनुपर्ने बताए। उनले पछिल्लो समय मन्त्रीहरूबाट समेत गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भइरहेकाले त्यस्ता गतिविधिप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

नेकपा (एमाले) का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायत क्षेत्रमा नेपालको भूमि अतिक्रमण भएको विषय उठाउँदै राष्ट्रिय हितभन्दा माथि कोही पनि नरहेको बताए। उनले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीप्रति मानवोचित व्यवहार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

यस्तै, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउन आग्रह गरे। उनले सभामुखले स्वतन्त्र र निष्पक्ष भूमिकामा काम गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सम्बन्धबारे प्रश्न उठाए।

सांसद यादवको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले नियमापत्ति जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका थिए।

सीमा विवाद, सरकारको जवाफदेहिता र सुकुम्बासी व्यवस्थापनका विषयमा सांसदहरूले एकपछि अर्को प्रश्न उठाएसँगै प्रतिनिधिसभा बैठकमा राजनीतिक बहस थप तातेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्