images
images

रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि चार हजार २११ जना प्रतिनिधि तय गरेको छ। देशभरका सात प्रदेश, प्रवास, समायोजन र मनोनयन प्रक्रियामार्फत उनीहरू चयन भएका हुन्।

पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशमा रहेका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि चयन भएका छन्। त्यस्तै पार्टी सभापतिले विधानअनुसार १३८ जनालाई मनोनयन गरेका छन् भने समूहगत रूपमा पार्टीमा प्रवेश गरेका १९२ जनालाई पनि प्रतिनिधिका रूपमा समेटिएको छ।

प्रदेशगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा धेरै ७९४ जना प्रतिनिधि सहभागी हुनेछन्। त्यसपछि मधेसबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४, कोशीबाट ३६४ र कर्णालीबाट ३४३ जना प्रतिनिधि महाधिवेशनमा रहनेछन्।

रास्वपाले पालिका, क्षेत्र, जिल्ला, प्रदेश तथा केन्द्रका विभिन्न तहका नेतृत्वलाई प्रतिनिधित्व सुनिश्चित गरेको छ। पालिका सभापति, क्षेत्रीय सभापति तथा उपसभापति, जिल्ला सभापतिसहित विभिन्न तहका पदाधिकारीहरू महाधिवेशन प्रतिनिधि बनेका छन्।

त्यस्तै प्रदेश समिति सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका प्रतिनिधिहरूलाई पनि महाधिवेशनमा सहभागी गराइएको छ। केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट समेत प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।

स्थानीय तहको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गरिएको छ। साथै प्रदेश र जिल्ला सम्पर्क विभागबाट पनि प्रतिनिधि सहभागी हुनेछन्।

रास्वपाले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका, समानुपातिक सूचीमा रहेका तथा पार्टीमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई समेत महाधिवेशन प्रतिनिधिका रूपमा समेटेको जनाएको छ।

चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक दिशा तय गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्