चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने भएको छ। महाधिवेशनले पार्टीको नेतृत्व चयनसँगै चितवनको पर्यटन, व्यापार र स्थानीय अर्थतन्त्रमा समेत उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।
महाधिवेशनमा देशका ७६ वटै जिल्ला तथा विदेशबाट समेत प्रतिनिधि, पर्यवेक्षक र अतिथिहरू सहभागी हुने भएकाले चितवनका होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरू उत्साहित देखिएका छन्। विशेषगरी सौराहा, भरतपुर र आसपासका क्षेत्रका होटलहरू पहिले नै बुकिङ हुन थालेका छन्।
व्यवसायीहरूका अनुसार महाधिवेशनका कारण असार–साउन जस्तो “अफ–सिजन” मा पनि होटलहरू भरिन थालेका छन्। होटल सञ्चालक भेषराज दुवाडीका अनुसार ठूला राजनीतिक कार्यक्रमले दीर्घकालीन रूपमा पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने गरेको छ।
“महाधिवेशनमा आउने पाहुनाहरू पछि पारिवारिक वा संस्थागत रूपमा फेरि भ्रमणमा आउने सम्भावना हुन्छ,” उनले बताए। उनका अनुसार स्थानीय कृषिजन्य उत्पादन—माछा, मासु, अण्डा, फलफूल, तरकारी र दुग्धजन्य वस्तु—को खपत पनि बढ्नेछ।
पर्यटन व्यवसायीहरूका अनुसार यसअघि ठूला राजनीतिक कार्यक्रमपछि चितवनमा पर्यटक आगमनमा वृद्धि भएको अनुभव छ। उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडीले यस्ता कार्यक्रमले जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग गर्ने बताए।
त्यसैगरी, पर्यटन व्यवसायी तथा रास्वपाका केन्द्रीय सदस्य ध्रुव गिरीले महाधिवेशनले समग्र जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउने बताए। उनका अनुसार अहिले नै सौराहालगायत क्षेत्रमा होटल बुकिङ बढेको छ र बेमौसमी समयमा पनि पर्यटकको चहलपहल देखिन थालेको छ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। यसले चितवनमा राजनीति सँगसँगै पर्यटन र व्यापारिक गतिविधिमा पनि नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्