images
images

जनमतबाट बनेको सरकारले करको विवेकपूर्ण उपयोग गर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताबाट निर्वाचित सरकारले उठाएको करलाई आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण ढंगले उपयोग गर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले विभिन्न स्रोतबाट संकलन गरेको करलाई एउटै सञ्चित कोषमा जम्मा गरी राष्ट्रिय आवश्यकताअनुसार खर्च गर्ने नीति अपनाएको स्पष्ट पारे।

उनका अनुसार प्रत्येक करलाई छुट्टै प्रयोजनमा मात्रै खर्च गर्न सकिने गरी ‘इयरमार्किङ’ गर्न सकिए पनि त्यसले प्रशासनिक तथा कानुनी जटिलता निम्त्याउन सक्छ। त्यसैले सरकारले कर संकलन र खर्च व्यवस्थापनलाई लचकदार र व्यावहारिक ढंगले अघि बढाउने धारणा राखेको उनले बताए।

अर्थमन्त्री वाग्लेले बुढीगण्डकी परियोजनाको क्षतिपूर्तिका लागि पूर्वाधार करबाट उठेको रकम प्रयोग गरिएको उदाहरण दिँदै, प्रत्येक कार्यक्रमका लागि छुट्टै कोष बनाइरहन आवश्यक नपर्ने बताए। वातावरण तथा प्रदूषण नियन्त्रणका नाममा उठेको कर पनि सम्बन्धित मन्त्रालय र कार्यक्रममार्फत विनियोजनमा प्रतिबिम्बित हुने उनको भनाइ थियो।

उनले संसद्ले आवश्यक ठानेमा विशेष प्रकृतिको बजेट व्यवस्था गर्न सकिने उल्लेख गर्दै त्यससम्बन्धी नीतिगत निर्देशन दिने अधिकार सार्वभौम संसद्कै भएको बताए।

सरकारले करको उपयोग गर्दा प्रशासनिक र कानुनी जटिलता नबढ्ने गरी पारदर्शी र विवेकपूर्ण ढंगले अघि बढ्ने उनले प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्