images
images

रास्वपाको प्रथम महाधिवेशन: संस्थापक मुकुल ढकाल ‘मिसिङ’, पार्टीलाई दिए ‘राजव्यक्ति’ नबन्न सुझाव

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ। पार्टीको स्थापना दिवस र वार्षिकोत्सवको अवसरमा आयोजित महाधिवेशनमा देशभरबाट हजारौँ प्रतिनिधि सहभागी भएका छन्।

महाधिवेशनको उद्घाटनसँगै पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक दिशाबारे बहस सुरु भइरहेका बेला पार्टीका संस्थापक सदस्य तथा पूर्वमहामन्त्री डा. मुकुल ढकालको अनुपस्थितिले विशेष चर्चा पाएको छ।

ढकालले सामाजिक सञ्जालमार्फत आफू महाधिवेशनमा सहभागी नभएको मात्र होइन, निमन्त्रणा सूचीमै नराखिएको दाबी गरेका छन्। उनले चार वर्षअघि पार्टी दर्ताका लागि नागरिकता संकलनदेखि संगठन निर्माणसम्मको संघर्ष स्मरण गर्दै पार्टीको ऐतिहासिक महाधिवेशनमा आफू बाहिरिनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

महाधिवेशनलाई शुभकामना दिँदै उनले पार्टीका प्रतिनिधिहरूलाई व्यक्ति केन्द्रित राजनीति भन्दा विचार, सिद्धान्त र नीतिमा आधारित निर्णय गर्न आग्रह गरेका छन्। “पद वा व्यक्तिको वरिपरि घुम्नु राजनीति होइन, त्यो राजव्यक्ति निर्माण गर्नु हो,” भन्दै उनले संस्थागत अभ्यासलाई प्राथमिकता दिन सुझाव दिएका छन्।

यता महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन पुगेका छन्। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि शुभकामना दिन महाधिवेशनस्थल पुगेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाको समेत सहभागिता रहेको छ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ। विशेषगरी केही पदमा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। यसबीच वर्षाका कारण उद्घाटनस्थलमा पानी जम्दा आयोजकले व्यवस्थापनमा अतिरिक्त प्रयास गर्नुपरेको थियो।

रास्वपाको संगठन विस्तार र सरकार सञ्चालनको अनुभवबीच भइरहेको पहिलो महाधिवेशनलाई पार्टीको भावी दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। तर पार्टी स्थापनामा महत्वपूर्ण भूमिका खेलेका मुकुल ढकालको अनुपस्थितिले भने महाधिवेशनको राजनीतिक चर्चालाई थप रोचक बनाएको छ।

प्रतिक्रिया दिनुहोस्