images
images

डिल्लीबजार कारागार जान रवि लामिछानेको माग, प्रक्रिया अघि बढ्यो

काठमाडौँ, जेठ २१ — सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देहीबाट काठमाडौँस्थित डिल्लीबजार कारागारमा सार्ने प्रक्रिया अगाडि बढाइएको छ।

जिल्ला कारागार रूपन्देहीले लामिछानेलाई काठमाडौँ सार्न उच्च अदालत बुटवल इजलासको आदेशसहित कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको जेलर सुरेश भण्डारीले जानकारी दिएका छन्। तर विभागबाट निर्णय आउन बाँकी रहेको उनले बताए। लामिछानेले परिवार तथा पार्टी भेटघाटलाई सहज बनाउने उद्देश्यले काठमाडौँको डिल्लीबजार कारागारमा सरुवा हुन माग गर्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका थिए। सोही आधारमा अदालतले आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिएको हो।

सुप्रिम सहकारी ठगी प्रकरणमा उनीमाथि पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटवल इजलासले गत चैत २२ गते आदेश दिएको थियो। यसअघि जिल्ला अदालत रूपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो, जुन आदेश उच्च अदालतले उल्ट्याएको हो। लामिछानेले सो आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरे पनि सर्वोच्चले उच्च अदालतकै आदेश सदर गरेपछि उनी कारागारमै थुनामा छन्। मुद्दाको टुंगो नलागेसम्म थुनामा रहनुपर्ने भएपछि उनले सरुवा माग गरेका हुन्।

काठमाडौँ र ललितपुरमा रहेका तीन कारागारमध्ये डिल्लीबजार कारागारमा कम कैदी र भीआईपी थुनुवाहरू बढी बस्ने भएकाले लामिछानेले त्यही कारागार रोजेका हुन्। विभागबाट स्वीकृति पाएपछि उनलाई तुरुन्तै सरुवा गरिने कारागार स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्