images
images

गभर्नर पौडेलद्वारा चार विभागमा नेतृत्व फेरबदल

काठमाडौँ, जेठ २१ — नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारीमा फेरबदल गरिएको छ। गभर्नर डा. विश्व पौडेलको नेतृत्वमा गरिएको पछिल्लो निर्णयअनुसार केही विभागका निर्देशकहरूको सरुवा र पदस्थापन गरिएको हो। राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले दुई जनाको सरुवा र एक जनाको नयाँ पदस्थापन गरिएको जानकारी दिएका छन्।

हालै मात्र निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि सो विभागको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

त्यस्तै, मुद्रा व्यवस्थापन विभागमा कार्यरत कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा पठाइएको छ। सो विभागमा पहिले रहेका तुल्सी नेपाल अनिवार्य अवकाशमा गएपछि उक्त पद खाली रहेको थियो।

यसरी नयाँ निर्णय अनुसार तीन जनाको सरुवा र एक जनाको पदस्थापन गरिएको हो। यसअघि पनि राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको व्यापक हेरफेर गरिएको थियो। आर्थिक अनुसन्धान विभाग, मानव संसाधन व्यवस्थापन विभाग, बैंकिङ विभाग र गभर्नर कार्यालयका निर्देशकहरूको जिम्मेवारी फेरिएको थियो। आर्थिक अनुसन्धान विभागमा रहेका डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको थियो। मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको नेतृत्व दिइएको छ। बैंकिङ विभागको जिम्मेवारी सम्हाल्दै आएका विश्रुत थापालाई मानव संसाधन व्यवस्थापन विभागमा पठाइएको छ भने हालै कार्यकारी निर्देशक बनेका डा. डिल्लीराम पोखरेललाई बैंकिङ विभागमा पदस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्