काठमाडौँ, जेठ १९ — सार्वजनिक यातायात क्षेत्र संकटतर्फ उन्मुख भइरहेका बेला, देशभरका यातायात व्यवसायीहरूले सोमबार (२०८२ साल जेठ २० गते) देखि अनिश्चितकालीन सवारी साधन बन्दको घोषणा गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनसहित ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को अगुवाइमा यो बन्दको निर्णय गरिएको हो। आन्दोलन अन्तर्गत सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याइने भएका छन्, जसका कारण देशभरका यात्रु, मजदुर तथा अन्य दैनिक आवतजावत गर्ने उपभोक्ता प्रभावित हुने निश्चित छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार आन्दोलनको मूल कारण गण्डकी प्रदेश सरकारले ल्याएको एक नयाँ नियमावली हो, जसले निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई ‘राइड सेयरिङ’ अन्तर्गत भाडामा सञ्चालन गर्न अनुमति दिएको छ। राईका अनुसार, यो नियमावली सार्वजनिक यातायात प्रणाली माथिको प्रत्यक्ष आक्रमण हो र यसले व्यवसायिक सवारीसाधनहरूलाई प्रतिस्पर्धामा कमजोर बनाउने खतरा बढाएको छ।
उनले भने, “हामीले सम्बन्धित निकायहरूलाई समयमै ध्यानाकर्षण गराएका थियौं। आवश्यक पत्राचार गर्यौं र वार्ताबाट समाधान खोज्ने प्रयास गर्यौं। तर, हाम्रो आवाजमा कुनै सुनुवाइ नभएपछि बाध्य भएर ग्यारेजमै सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रनु परेको हो।” उनले यस निर्णयलाई अत्यावश्यक कदमका रूपमा वर्णन गर्दै सरकारसँग पुनः गम्भीर संवादको अपिल गरेका छन्।
आन्दोलनको सन्दर्भमा ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायातका व्यवसायीहरू तथा मजदुरहरू आन्दोलनमा जानु परेकोमा दुःख व्यक्त गर्दै आम उपभोक्ता, यात्रु वर्ग, मजदुर र कर्मचारीहरूलाई सहयोग गर्न आग्रह गरेको छ। विज्ञप्तिमा उल्लेख छ, “गण्डकी प्रदेश सरकारको गैरजिम्मेवार निर्णयका कारण सार्वजनिक यातायात संकटमा परेको छ। हाम्रो आन्दोलनबाट पर्न सक्ने असुविधाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ। हामी सम्पूर्ण सरोकारवालाहरूलाई सार्वजनिक यातायात जोगाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न हार्दिक अनुरोध गर्छौं।”
विज्ञप्तिमा जेठ २० गतेदेखि सुरु हुने बन्द अनिश्चितकालीन हुने जनाइएको छ। यसले देशभरकै सार्वजनिक यातायात प्रणाली प्रभावित पार्ने निश्चित छ।










प्रतिक्रिया दिनुहोस्