images
images

राजावादी आन्दोलन चर्किएपछि काठमाडौंमा सुरक्षा समितिको आपतकालीन बैठक

१८ जेठ, काठमाडौं — राजधानी काठमाडौंमा जारी राजावादी आन्दोलन र राप्रपाको विरोध कार्यक्रमहरू चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला सुरक्षा समितिको आपतकालीन बैठक बोलाएको छ। आज साँझ बस्ने उक्त बैठकमा हाल राजधानीको सुरक्षापरिस्थिति, सम्भावित जोखिमहरू, र प्रदर्शनका क्रममा देखिएको तनावका विविध पक्षहरूमा छलफल हुने सरकारी स्रोतले जनाएको छ।

बैठकमा मुख्य रूपमा राप्रपाले थप घोषणा गर्न लागेको विरोध कार्यक्रम र ती कार्यक्रमहरूले राजधानीको शान्ति सुरक्षामा पार्न सक्ने प्रभावमाथि समीक्षा गरिनेछ। साथै, आइतबार दिउँसो नारायणचौर क्षेत्रबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंहसहित आठ जना कार्यकर्ताको अवस्था र उनीहरूलाई छाड्ने कि कानुनी प्रक्रिया अघि बढाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।

राजावादीहरूले राजसंस्थाको पुनःस्थापना र नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागसहित आन्दोलन थालेका छन्। राप्रपाको नेतृत्वमा भएको आन्दोलन १५ जेठदेखि सुरु भएको हो। आइतबार उक्त आन्दोलन नारायणचौरबाट सुरु भई निषेधित क्षेत्रतर्फ अघि बढ्दा प्रहरी हस्तक्षेपमा झडप हुन पुगेको थियो। सो क्रममा कमल थापासहित आठ जना पक्राउ परेका थिए। त्यही क्रममा उनीहरूको समर्थनमा प्रहरी परिसर पुगेका राप्रपाका सांसद दीपक सिंहलाई समेत हिरासतमा लिइएको थियो।

पछिल्ला घटनाक्रम र आगामी दिनमा हुने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन र सुरक्षा निकायहरू उच्च सतर्कतामा छन्। बैठकमा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहने छ। सुरक्षाका दृष्टिकोणले सरकारले निषेधित क्षेत्रको कार्यान्वयनलाई थप कडाइका साथ अघि बढाउने तयारी पनि गरेको बुझिएको छ। जिल्ला प्रशासनले अहिलेको परिस्थितिमा संयमता अपनाउन सबै पक्षलाई आग्रह गर्दै शान्तिपूर्ण र जिम्मेवार व्यवहार गर्न आह्वान गरिरहेको छ। तर, आन्दोलनकारीहरू भने नेतृत्व पक्राउमा आक्रोशित हुँदै सरकारमाथि दमनको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्