images
images

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरुद्ध रहने: रास्वपा र माओवादी केन्द्र

काठमाडौं, जेठ १७
भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र दुबै दलले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने अडान दोहोर्‍याएका छन्।

शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरेको नेतृत्वमा मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग भएको छलफलपछिको पत्रकार भेटघाटमा दुबै दलका प्रमुख सचेतकहरूले आफ्ना अडान प्रष्ट पारे।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संवैधानिक जिम्मेवारीका आधारमा बिहीबार संसदमा बजेट प्रस्तुत हुन दिएका भए पनि, सरकारको जवाफ, गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग पूरा नभएसम्म सदन अगाडि नबढ्ने बताए। उनले उक्त प्रकरणमा नयाँ तथ्य र सन्देशहरू प्राप्त भएको र तिनलाई सदनमा प्रस्तुत गरिने जानकारीसमेत दिए।

त्यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि भिजिट भिसा प्रकरणलाई गम्भीर बदमासीको संज्ञा दिँदै यसमा राजनीतिक रूपमा मानव तस्करीसमेत जोडिएको बताए। उनले देश, जनता, संविधान र प्रणालीविरुद्ध हुने कार्यलाई रोकिनुपर्ने भन्दै, गृहमन्त्रीको राजीनामा नभएसम्म आन्दोलन जारी राख्ने अडान दोहोर्‍याए।

संसद्मा निरन्तर अवरोध गर्दै आएका यी दलहरूले भिजिट भिसाका नाममा विदेश जान चाहने सर्वसाधारणसँग लाखौं रुपैयाँ असुली गर्ने प्रकरणमा गृहमन्त्री लेखक प्रत्यक्ष मुछिएको दाबी गर्दै आएका छन्। दुवै दलको माग छ — सरकारको जवाफ, दोषीको पहिचान र जिम्मेवारको राजीनामा बिना संसद सञ्चालन असम्भव छ।

प्रतिक्रिया दिनुहोस्