गणतन्त्र दिवस २०८२ को अवसरमा राजधानीको सैनिक मञ्च, टुँडिखेल क्षेत्रमा आयोजना हुने औपचारिक कार्यक्रम तथा विभिन्न राजनीतिक दलहरूको प्रदर्शनका कारण बुधबार दिनभर सवारी आवागमन प्रभावित हुने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले नागरिकलाई वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ।
गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा आज बिहान १० बजेदेखि सैनिक मञ्चमा औपचारिक कार्यक्रम सुरु हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुने उक्त कार्यक्रममा विभिन्न सुरक्षा निकाय, विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाहरूको झाँकी प्रदर्शन र सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्। राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुगेपछि टुँडिखेल वरिपरिको सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जानकारी उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विनोद घिमिरेले दिएका छन्।
राष्ट्रपति पौडेलको कार्यक्रम सम्पन्न भएपछि (झन्डै ११ बजे) सोही क्षेत्रमा नेकपा एमालेले आयोजना गर्न लागेको विरोध प्रदर्शनका कारण फेरि सवारी आवागमन प्रभावित हुनेछ। एसएसपी घिमिरेका अनुसार एमालेको प्रदर्शनका कारण थप तीन घण्टासम्म टुँडिखेल आसपासको सडकमा सवारी चल्न नपाउनेछ।
त्यसपछि, दिउँसो २ बजेदेखि राप्रपाले रत्नपार्क केन्द्रित प्रदर्शन आयोजना गर्ने योजना बनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले उक्त प्रदर्शनको सुरक्षा व्यवस्थापन गर्नेछ। राप्रपाको प्रदर्शनलाई शान्तिबाटिकाबाट अघि बढ्न नदिने नीति अनुसार कार्यान्वयन गरिने बताइएको छ। ट्राफिक प्रमुख घिमिरेका अनुसार राप्रपाको कार्यक्रम व्यवस्थापन यसरी गरिएको छ कि सडक पूर्णरूपमा बन्द गर्न आवश्यक नपरोस्। तथापि, आकस्मिक रूपमा कुनै अवरोध भएमा अधिकतम ४ बजेसम्म सवारी आवागमन प्रभावित हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिए।
वैकल्पिक रुट प्रयोग गर्न आग्रह: सडक बन्द भएको अवधिका लागि ट्राफिक प्रहरीले वैकल्पिक रुटका रूपमा पुतलीसडक–जय नेपाल हल मार्ग तथा कालिकास्थान–चारखाल सडक (ठाडो लाइन) प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ। यी रुटमार्फत यात्रुहरू र सार्वजनिक सवारी साधनले वैकल्पिक आवागमन गर्न सक्ने व्यवस्था गरिएको छ। एसएसपी घिमिरेले नागरिकहरूलाई आजको दिन टुँडिखेल वरिपरिको क्षेत्रबाट यथासम्भव टाढा रहन, आवश्यक कामबाहेक सवारी प्रयोग नगर्न तथा ट्राफिक सूचनाको नियमित पालना गर्न अपिल गरेका छन्।









प्रतिक्रिया दिनुहोस्