काठमाडौं, जेठ १४ — भोलि (जेठ १५) गणतन्त्र दिवसका दिन काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सत्तारूढ नेकपा (एमाले) र राजावादी समूहले छुट्टाछुट्टै एजेन्डा सहित प्रदर्शन गर्ने भएका छन्। सम्भावित भिडन्त रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई पक्षलाई फरक-फरक समय निर्धारण गर्दै सुरक्षाका लागि विशेष व्यवस्था मिलाएको छ। जिल्ला सुरक्षा समितिको बिहीबार सम्पन्न बैठकले एमालेलाई दिउँसो २ बजेसम्म आफ्नो कार्यक्रम सक्न निर्देशन दिएको छ। त्यसपछि राजावादी समूह, विशेषगरी राप्रपाका कार्यकर्ता, सोही स्थानमा प्रदर्शन गर्ने छन्।
एमालेले गणतन्त्र दिवसलाई “गणतन्त्र उत्सव” को रूपमा मनाउँदैछ भने राप्रपालगायत राजावादी समूहले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, र हिन्दू राष्ट्र पुनःस्थापना लगायतका मागसहित प्रदर्शन गर्ने जनाएका छन्। दुवै समूहले भृकुटीमण्डप, सहिदगेट र रत्नपार्क क्षेत्रलाई केन्द्र बनाएर कार्यक्रम तय गरेका छन्। प्रशासनले दुई पक्षबीचको कार्यक्रम समयको हिसाबले टकराव नहोस् भन्नका लागि नेताहरूसँग अलग-अलग संवाद गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि जिल्ला प्रशासन कार्यालयले सिधा समन्वय गरेको जनाइएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीले सुरक्षा व्यवस्थालाई थप सतर्क बनाइएको जानकारी दिएका छन्। “दुबै पक्षको कार्यक्रम समय अनुसार सञ्चालन हुने गरी तयारी भएको छ। अप्रिय गतिविधि नहोस् भन्नेमा हामी विशेष सतर्क छौं,” उनले बताए। जिल्ला प्रशासनको व्यवस्थापनपछि अब १५ जेठको दिन काठमाडौंमा हुने दुई फरक राजनीतिक कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न हुने अपेक्षा गरिएको छ।










प्रतिक्रिया दिनुहोस्