images
images

अफताब आलमलाई उच्च अदालतबाट सफाइ, १२ वर्ष पुरानो हत्या आरोपबाट मुक्त

१४ जेठ, काठमाडौं — नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएपछि उनलाई कारागारबाट रिहा गरिएको छ। बुधबार उच्च अदालत वीरगञ्जको संयुक्त इजलासले आलमलाई दोषमुक्त ठहर गर्दै जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको हो। अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। फैसलाको पत्र वीरगञ्ज अदालतबाट प्राप्त भएपछि आलमलाई ललितपुरस्थित नख्खु कारागारबाट रिहा गरिएको हो।
आलमलाई २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैतमा रौतहटको राजपुरस्थित एक इँटाभट्टामा जिउँदै मानिस जलाएर हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो। विस्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह, ओशी अख्तरलगायतलाई जिउँदै इँटाभट्टामा हालिएको अभियोग थियो। १२ वर्षपछि, २०७६ असोज १९ गते रौतहट प्रहरीले आलमलाई पक्राउ गरेको थियो। जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध आलमले उच्च अदालतमा पुनरावेदन गरेका थिए। उनसँगै दोषी ठहर भएका महताव आलम, शेष सेराज र बद्री सहनीलाई पनि जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

घटनाबारे सुरूमा माओवादी पक्षको संलग्नता रहेको भनिए पनि पछि अनुसन्धानको घेरामा आलम आएका थिए। पीडित त्रिलोकप्रताप सिंहका बुबा श्रीनारायण सिंह राजपूतले २०७६ कार्तिक १८ गते आलमसहितका विरुद्ध उजुरी दिएका थिए।

सांसदसमेत रहेका आलममाथि लागेको गम्भीर अभियोग र त्यसपछि आएको फैसलाले लामो समयसम्म राजनीतिक र कानुनी बहस चल्यो। कांग्रेस सभापति शेरबहादुर देउवाले आलमको रिहाइका लागि प्रयास गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए, जसले यो प्रकरणमा राजनीतिक हस्तक्षेपको आशंका पनि जन्माएको थियो। अदालतको पछिल्लो निर्णयपछि पुनः राजनीतिक प्रभाव र न्यायिक प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ। घटनामा न्याय पाउने आशामा रहेका पीडित पक्ष भने निराश देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्