images
images

गृहमन्त्री लेखकको प्रष्टोक्ति: “भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन”

१४ जेठ, काठमाडौं — हालै चर्चामा रहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध भइरहेको आरोपको खण्डन गरेका छन्। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा नियोजित रुपमा लक्षित गरिएको दाबी गरे। उनले सामाजिक सञ्जालमार्फत आफूमाथि लगाइएको आरोपहरू आधारहीन, असत्य र दुर्भावनापूर्ण भएको स्पष्ट पारे। “भिजिट भिसा विषयलाई लिएर सामाजिक सञ्जालमा मलाई संलग्न देखाउने प्रयास भयो, तर त्यो एकदमै गलत र असत्य हो। मेरो यो प्रकरणमा कुनै संलग्नता छैन,” उनले दृढताका साथ भने।

मन्त्री लेखकले यो घटनालाई एक किसिमको राजनीतिक षड्यन्त्रको संज्ञा दिंदै, आफ्नो छवि बिगार्ने नियतका साथ केही शक्तिहरू सक्रिय भएको बताए। “माथि नियोजित ढंगले, पूर्वाग्रही सोचले प्रेरित आक्रमण भइरहेको छ। यो नियतसहितको चरित्र हत्या प्रयास हो,” मन्त्री लेखकले थपे। उनका अनुसार आफूमाथि भएको आरोपका कुनै प्रमाण छैनन् र यस्ता आधारहीन प्रचारविरुद्ध आफू कानुनी र राजनीतिक रुपमा जुझ्न तयार रहेको पनि स्पष्ट पारे। उनले मन्त्रालयको तर्फबाट वैधानिक प्रक्रिया अवलम्बन भइरहेको भन्दै, भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको आवश्यकता औंल्याए।

भिजिट भिसा प्रकरण केही दिनयता सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा चर्चाको विषय बनेको छ। यसमा उच्चस्तरीय राजनीतिक पहुँचका आधारमा भिसा वितरणमा अनियमितता भएको आरोप सार्वजनिक भएको थियो। यस्तै सन्दर्भमा गृहमन्त्री लेखकको नाम पनि जोडिएपछि उनले स्वयं पत्रकार सम्मेलनमार्फत आफ्नो पक्ष स्पष्ट गरेका हुन्।

गृहमन्त्री लेखकले सत्तामा रहेर कुनै पनि अवैधानिक क्रियाकलापमा आफू संलग्न नहुने प्रतिवद्धता व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक हुने विश्वास समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्