images
images

बजेट पूर्वसन्ध्यामा सेयर बजारमा उत्साह: नेप्से दोहोरो अंकले उकालो, कारोबार रकममा समेत उछाल”

काठमाडौं, १४ जेठ — आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक हुने अघिल्लो दिन सेयर बजारमा उल्लेखनीय उत्साह देखिएको छ। लगानीकर्ताहरू बजेटले बजारमैत्री नीति ल्याउने अपेक्षासहित सक्रिय देखिएसँगै बुधबार कारोबारको अन्तिम समयमा बजारमा तीव्र सुधार देखिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इन्डेक्स ४.२३ अंक, फ्लोट इन्डेक्स १.४८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५९ अंकले वृद्धि भएका छन्।

दिनभर सम्हालिएको देखिएको बजार कारोबारको अन्तिम प्रहरमा बैंकिङ समूहको नेतृत्वमा उकालो लागेको हो। विश्लेषकहरूका अनुसार यो सुधारको संकेतले सरकार बजेटमार्फत सेयर बजारप्रति सकारात्मक सन्देश दिन सक्ने अपेक्षा गरिएको छ।

बजार सुधारसँगै कारोबार रकममा समेत उल्लेखनीय वृद्धि भएको छ। बुधबार सेयर बजारमा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। यो अघिल्लो दिनको ६ अर्ब ५२ करोडको तुलनामा करिब २ अर्ब रुपैयाँले बढी हो। पछिल्ला केही दिनदेखि घट्दो कारोबार रकममा आएको यो वृद्धिले बजारमा सकारात्मक मनोवृत्ति देखिएको विश्लेषण गरिएको छ।

यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीका सेयरहरू सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको सेयर ९.८५ प्रतिशतले बढेको छ। तर, केही कम्पनीहरूले भने बजारको सुधारमा साथ दिन सकेनन्। बाराही हाईड्रोपावरको सेयर ५.२६ प्रतिशत र क्रिष्ट माईक्रो लाईफ इन्स्योरेन्सको सेयर ५.१० प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा ङादी ग्रुप पावर कम्पनी अग्रपंक्तिमा रह्यो। यस कम्पनीको एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। राधी विद्युत कम्पनी दोस्रो स्थानमा रहँदै ६० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचकमा वृद्धि भएको छ। विकास बैंक समूह १.७५ प्रतिशतले बढ्दै सबैभन्दा बढी उकालो लागेको समूह रह्यो। होटल तथा पर्यटन, हाईड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन, र म्यूचुअल फन्ड समूहमा समेत सुधार देखिएको छ। यता, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य उपसमूह भने घटेका छन्।

बजेट सार्वजनिक हुनुअघि बजारमा देखिएको यो सुधारले लगानीकर्तामा आशा पलाएको छ। सरकारद्वारा पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा मान्यता दिने सम्भावनाले बजारमा उत्साह थपेको बताइन्छ।

आर्थिक वर्ष २०८२/८३ को बजेट अर्थमन्त्रीले जेठ १५ गते बिहीबार संसदमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस्