काठमाडौं । काठमाडौं उपत्यकामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा ९२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ८४ पुरुष र आठ महिला छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रमा निगरानी र जाँच तीव्र बनाएको थियो।
पक्राउ परेकामध्ये विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएका व्यक्तिदेखि अदालतबाट दोषी ठहर भई फरार रहेका कसुरदारसमेत छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि रोकथाम तथा नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
प्रहरीले सार्वजनिक यातायात तथा सेवाग्राहीको बढी आवतजावत हुने स्थानमा सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला र हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाको गतिविधि सञ्चालन गर्ने र गुण्डागर्दी गर्ने व्यक्तिलाई लक्षित गरी निगरानी बढाएको जनाएको छ।
१३ फरार कसुरदार पक्राउ
विशेष अभियानका क्रममा अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका १३ जना फरार कसुरदारसमेत पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका तथा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिको खोजीलाई पनि अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सार्वजनिक यातायात, बसपार्क, बजार क्षेत्र तथा सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुन सक्ने भएकाले त्यस्ता स्थानमा प्रहरी परिचालन र निगरानी बढाइएको हो।
प्रवक्ता थापाले नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउने गरी प्रहरी परिचालन गरिएको बताए।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाउँदै सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न विशेष निगरानी तथा जाँचलाई निरन्तरता दिने जनाएको छ।












प्रतिक्रिया दिनुहोस्