images
images

एनपीएलमा आज दुई खेल, विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज दुई खेल हुँदै छन्। पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। यस्तै, जनकपुर र कर्णालीबीचको दोस्रो खेल अपराह्न ५ बजे सुरु हुनेछ।

आज प्रतिस्पर्धामा उत्रने चार टोलीमध्ये जनकपुरले मात्रै यसअघि एनपीएलको उपाधि जितेको छ। जनकपुर यसपटक पनि उपाधि जित्दै पहिलो संस्करणको सफलता दोहोर्‍याउने लक्ष्यमा छ। कर्णाली भने पहिलो उपाधिको खोजीमा हुनेछ।

पहिलो खेलमा भिड्ने विराटनगर र चितवन पनि जित निकाल्दै उपाधि यात्रालाई बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

यसपटकको एनपीएलमा केही नयाँ सुविधा थपिएका छन्। प्रतियोगितामा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग हुँदैछ। यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ।

क्यानले यस संस्करणको पुरस्कार राशि पनि बढाएको छ। प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ।

 

प्रतिक्रिया दिनुहोस्