images
images

मन्त्रीलाई भेट्न जनता आउने होइन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या सुन्न मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री रावलले सरकारले गरेका काम र आगामी योजनाबारे नागरिकलाई जानकारी दिन आफू चितवन आएको बताइन्। भूमिहीन नागरिक र सहकारीपीडितका समस्या समाधान सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ।

मन्त्री रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै त्यसलाई थप तीव्रता दिइने बताइन्। लामो समयदेखि बचत फिर्ता नपाएका नागरिकको समस्या छिटो समाधान गर्नुपर्नेमा उनले जोड दिइन्।

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले जनताका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्री आफैँ नागरिकमाझ पुग्ने अभियान अघि बढाइएको बताइन्।

“सरकारले जनताको हकहितमा के काम गरिरहेको छ र आगामी कार्ययोजना के छ भन्नेबारे जनतालाई बताउनुपर्ने छ। उहाँहरू त्यो सुन्न आतुर हुनुहुन्छ,” उनले भनिन्।

भूमिहीन नागरिकलाई अहिले बसोबास गरिरहेको ठाउँबाट हटाइने हो कि भन्ने आशङ्का हटाउनुपर्ने पनि मन्त्री रावलले बताइन्। कानुनी जटिलताका कारण जग्गा उपलब्ध गराउन समस्या भएको उल्लेख गर्दै उनले ती बाधा हटाएर सरकार अघि बढेको जानकारी दिइन्।

लामो समयदेखि बसोबास गर्दै आएको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहे पनि आवश्यक नीतिगत सुधार गरिसकिएको उनले बताइन्। कार्यान्वयनका क्रममा देखिने समस्या पनि समाधान गर्दै भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्