काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्दै गएको छ। हालसम्म १ लाख ३० हजार १२९ यात्रुले दसैँका लागि अग्रिम बस टिकट बुकिङ गरेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ७८ हजार १३८ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। दसैँ मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिस गाउँ फर्किन थालेपछि सार्वजनिक यातायातमा यात्रुको चाप बढेको हो।
घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनमार्फत १ लाख ८७ हजार ७७४ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७ र २६ गते ५६ हजार ८०९ जना यात्रु बाहिरिएका थिए।
यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडालगायतका नाका हुँदै बाहिरिएका छन्।
यात्रुको चाप बढेसँगै यातायात व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको अवस्थाका कारण सवारीसाधन व्यवस्थापनमा समस्या भइरहेको बताए।
उनका अनुसार विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न र काठमाडौं फर्किन कठिनाइ भइरहेको छ। असोज २३ गते अग्रिम टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएका थिए।
ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, २४ र २५ गते ७६ हजार ७९, २६ गते १७ हजार १९७ र २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्।
यातायात व्यवसायी महासंघले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दसैँमा परिवार र आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन राजधानीबाट बाहिरिनेको सङ्ख्या बढ्दै जाँदा आगामी दिनमा पनि सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने देखिएको छ।












प्रतिक्रिया दिनुहोस्