images
images

रोहितको र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य

काठमाडौं । रोहित पौडेलको अर्धशतक र करण केसीको विस्फोटक ब्याटिङमा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध २६४ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ५८ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १३औँ अर्धशतक पूरा गरे।

करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले १६ बलमा एक चौका र चार छक्कासहित अविजित ४० रन बनाए।

नेपालको सुरुवात भने राम्रो हुन सकेन। ओपनर आसिफ शेख चार रनमा आउट हुँदा नेपालले १७ रन जोडेको थियो। त्यसपछि अर्जुन कुमाल र इशान पाण्डेले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। इशान ३७ र अर्जुन ४० रन बनाएर आउट भए।

त्यसपछि रोहित र बसिर अहमदले चौथो विकेटका लागि १०६ रनको शतकीय साझेदारी गरे। बसिर ३७ रनमा आउट भए भने रोहितले अर्धशतकीय इनिङ्स खेले।

दीपेन्द्रसिंह ऐरीले २२ र सन्दीप जोराले १० रन बनाए। नेपालले ४६.१ ओभरमा २१६ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो। त्यसपछि करणले आक्रामक ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए।

ओमानका लागि साह फैसल, सकिल अहमद र करण सोनाभालेले समान दुई विकेट लिए।

नेपालले यसअघि लिग–२ को पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो। ओमानविरुद्धको खेलमा पनि जित निकाल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको छ।

प्रतिक्रिया दिनुहोस्