काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन्। एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि उनले त्यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर आफूलाई फसाउन खोजिएको आशंका व्यक्त गरेका छन्।
जनआस्थाले सोमबार एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको भनिएको अडियोसहितको समाचार सार्वजनिक गरेको थियो। त्यसपछि रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको र उनीमाथि छानबिन अघि बढाइएको जानकारी दिएका थिए।
त्यसको केही समयपछि फेसबुकमा भिडियो सार्वजनिक गर्दै सुनारले आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको बताएका हुन्। उनले पार्टी र राज्यका सबै प्रकारका छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु। म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ उनले भनेका छन्, ‘मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु। सांसदबाट निलम्बित हुन पनि म तयार छु।’
सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण निरन्तर निशानामा परेको दाबीसमेत गरेका छन्। पार्टीको कामको सिलसिलामा दाङमा रहेका उनले आफूले कुनै अपराध गरेको प्रमाणित भए कानुनअनुसारको सजाय भोग्न तयार रहेको बताएका छन्।
‘मैले भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने म अहिले यही दाङबाट हतकडी लाएर जानलाई मलाई कुनै पनि आपत्ति छैन,’ उनले भनेका छन्।
सुनारले सार्वजनिक भएको अडियोमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै त्यसलाई आफूविरुद्धको षड्यन्त्रको संज्ञा दिएका छन्। प्रविधि, एआई वा आवाजको नक्कल गर्ने अन्य माध्यमबाट आफूलाई फसाउन खोजिएको हुन सक्ने उनको आशंका छ।
‘अहिले सामाजिक सञ्जालमा अडियो र भिडियो भन्दै जे सार्वजनिक गरिएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन। त्यो पात्र म होइन,’ उनले भनेका छन्, ‘मैले त्यस्तो कुरा बोलेको वा त्यस्तो काम गरेको छैन।’
उनले आफूमाथि पार्टी वा सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता नरहेको पनि बताएका छन्। बरु निष्पक्ष र निर्भीक छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
‘पार्टीले मलाई आफ्नै साथी भनेर संरक्षण गर्नुपर्दैन। सरकारले पनि ममाथि कुनै दया देखाउनुपर्दैन। मलाई दयाको भिक्षा चाहिएको छैन,’ सुनारले भनेका छन्, ‘मैले अपराध वा बदमासी गरेको प्रमाणित भएमा कानुनबमोजिमका सबै परिणाम भोग्न तयार छु।’
बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनारमाथि लागेको आरोप र सार्वजनिक अडियोको सत्यतथ्य भने छानबिनबाट पुष्टि हुन बाँकी छ।













प्रतिक्रिया दिनुहोस्