काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उदयशमशेर राणा महामन्त्री पदमा निर्वाचित भएका छन्। खुलातर्फको महामन्त्री पदमा राणाले बहालवाला महामन्त्री गुरुराज घिमिरेलगायतका उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन्।
आइतबार अबेर राति सार्वजनिक मतपरिणामअनुसार राणाले २ हजार ३३० मत प्राप्त गरेका छन्। खुलातर्फ सबैभन्दा बढी मत प्रदीप पौडेलले ४ हजार १९४ प्राप्त गरेका छन्।
महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको विश्वास जितेका राणालाई कांग्रेस नेता पूर्णबहादुर खड्का र बालकृष्ण खाणको समेत साथ रहेको थियो। खाणले आफू निकट महाधिवेशन प्रतिनिधिहरूलाई उदयशमशेर राणा र नैनसिंह महरलाई महामन्त्रीका उम्मेदवारका रूपमा समर्थन गर्न आग्रह गर्दै सूची वितरण गरेको बताइएको थियो। विशेष र नियमित महाधिवेशन पक्षधर दुवै समूहको समर्थन पाएपछि राणा महामन्त्री बन्न सफल भएका हुन्।
विद्यार्थी राजनीतिदेखि महामन्त्रीसम्म
५६ वर्षीय राणा कांग्रेसका पुराना नेता सागरशमशेर राणाका छोरा हुन्। उनको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। सन् १९६९ मा ललितपुरमा जन्मिएका राणा भारतमा अध्ययनरत रहँदै कांग्रेस राजनीतिमा सक्रिय भएका थिए। उनी नेपाल विद्यार्थी संघ (नेविसंघ), दिल्लीका प्रथम अध्यक्ष बनेका थिए।
नेपाल फर्किएपछि उनी कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा आबद्ध भए। सन् १९९८ मा तरुण दल ललितपुरको जिल्ला अध्यक्ष बनेका राणा त्यसपछि संगठनका विभिन्न जिम्मेवारीमा रहे। सन् २०११ मा उनी तरुण दलको केन्द्रीय अध्यक्ष बने। उनी अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको उपाध्यक्षसमेत भएका थिए।
कांग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएका राणा १४औँ महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए। पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीभित्र राजनीतिक स्थान बनाएका उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए।
दुई पटक सांसद, एक पटक राज्यमन्त्री
राणा २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री बनेका थिए। उनले प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–१ बाट दुई पटक जित हासिल गरेका छन्। उनी २०७० र २०७९ सालको निर्वाचनमा निर्वाचित भएका थिए भने २०६४, २०७४ र २०८२ सालका निर्वाचनमा पराजित भएका थिए।
अर्थतन्त्र र कूटनीतिक विषयमा रुचि तथा ज्ञान राख्ने राणाको शैक्षिक यात्रा ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलबाट सुरु भएको थियो। उनले भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजमा माध्यमिक तहको अध्ययन गरेका थिए। त्यसपछि भारतकै लरेन्स स्कुल, सानावरमा अध्ययन पूरा गरेका उनले दिल्ली विश्वविद्यालयअन्तर्गतको सेन्ट स्टिफन्स कलेजबाट स्नातक तह उत्तीर्ण गरे।
राणाले संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित कर्नेल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन्। उनले नेपालको विदेश नीति तथा भारत र चीनसँगको सम्बन्धबारे अनुसन्धानसमेत गरेका छन्।
लामो समय विद्यार्थी राजनीति, युवा संगठन र पार्टीका विभिन्न जिम्मेवारीमा बिताएका राणालाई महामन्त्रीको जिम्मेवारीसँगै अब कांग्रेसको संगठन सुदृढीकरण र पार्टी सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चुनौती थपिएको छ।












प्रतिक्रिया दिनुहोस्