images
images

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि बूढीगण्डकीमा बाढी आएको हो। बाढीमा परी बेपत्ता भएका पाँचै जना चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङका बासिन्दा हुन्। उनीहरू भेडीगोठमा रहेका बेला बेपत्ता भएका जनाइएको छ।
बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे तथा पक्की पुल, विद्युत्का खम्बा र टेलिफोन टावरमा क्षति पुर्‍याएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठ वटा घर बगाएको छ।

त्यस्तै, चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।

आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगेको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको प्राधिकरणले जनाएको छ।
माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि त्यहाँका २० देखि २२ घर जोखिममा परेका छन्। ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ। बाढीले दुई वटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुर्‍याएको छ।

बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन्। सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकप्टर परिचालन गरिएका छन्। हेलिकप्टरमार्फत हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए।

बाढीको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। त्यस्तै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्