काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको हो।
केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जनाएको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लाग्नुका साथै मतदान प्रक्रिया ढिलो भएपछि समय थप गरिएको हो।
शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। एक जना प्रतिनिधिलाई मतदान गर्न कम्तीमा आधा घण्टा लाग्ने भएपछि निर्धारित समयमा मतदान सम्पन्न गर्न कठिनाइ भएको जनाइएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यसहित विभिन्न २३ क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय साँझ ५ बजेसम्म थप गरिएको जानकारी दिएका छन्।












प्रतिक्रिया दिनुहोस्