images
images

पूर्वप्रधानन्यायाधीश जबरासहित नातेदार र निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनका नातेदार तथा निकट व्यक्तिहरूको घरमा छापा मारेको छ ।

विभागको टोलीले जबरासहित दीपक तिमल्सिना, नारायण दाहाल र नवराज थपलियाको घरमा छापा मारिरहेको स्रोतले जनाएको छ ।

त्यस्तै जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि विभागको टोली पुगेको छ । उनीहरूका घरमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा अनुसन्धानका क्रममा छापा मारिएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले जबरा र उनीनिकट व्यक्तिहरूमार्फत सम्पत्ति लुकाइएको हुन सक्ने आशंकाका आधारमा छापा मारिएको बताएका छन् ।

छापा मारिएकामध्ये नवराज थपलिया उच्च अदालतका पूर्वन्यायाधीश हुन् ।

यसअघि यही असोज १० गते राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित घरबाटै नियन्त्रणमा लिएको थियो । उनलाई करिब १२ घण्टा प्रहरी हिरासतमा राखेर असोज ११ गते छाडिएको थियो । प्रहरीले भने सुरक्षा कारण देखाउँदै उनलाई कार्यालय लगिएको जनाएको थियो ।

जबराविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । विभागको अनुसन्धान सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा केन्द्रित रहेको बताइएको छ ।

जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

महाभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । महाभियोग प्रस्ताव पारित नभए पनि उनी सर्वोच्च अदालत फर्किन पाएनन् । यसैबीच उनको प्रधानन्यायाधीशको कार्यकाल समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्