काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार चौथो दिनको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ ।
आज विभिन्न चार वटा प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहे पनि अचानक आएको हावाहुरीसहितको ठूलो वर्षाका कारण बन्दसत्र प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।
बिहान १०ः३० बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको थियो । पछि खाजा समयपछि ११ः३० बजेदेखि सुरु गर्ने तयारी भए पनि त्यसअघि नै हावाहुरीसहित ठूलो वर्षा भएपछि कार्यक्रम प्रभावित भएको हो ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते खुलामञ्चमा विशेष कार्यक्रमसहित उद्घाटन भएको थियो । त्यसयता सोही स्थानमा बन्दसत्र जारी छ ।
आजको बन्दसत्रमा आमसञ्चारकर्मीलाई समेत प्रवेश दिइएको छ । खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा प्रवेश खुला गरिएको प्रवक्ता चालिसेले बताए । उनका अनुसार यसअघि सम्पन्न विशेष महाधिवेशनमा पनि बन्दसत्र सबैका लागि खुला गरिएको थियो ।
बन्दसत्रको प्रत्यक्ष प्रसारण कांग्रेसको फेसबुक पेजबाट गरिने भएको छ । अन्य सञ्चारमाध्यमलाई समेत बन्दसत्र प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइएको कांग्रेसले जनाएको छ ।
आजको बन्दसत्रपछि सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने कार्यक्रम छ । सभापतिको सम्बोधनसँगै बन्दसत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी कांग्रेसले गरेको छ ।
महाधिवेशनका विभिन्न सत्रमा पार्टीको आगामी कार्यदिशा, नीति तथा संगठनात्मक संरचनाका विषयमा छलफल भइरहेको छ । राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्ने प्रवक्ता चालिसेले जानकारी दिए।












प्रतिक्रिया दिनुहोस्