images
images

गोप्य सूचना चुहाउने जोसुकैलाई कानुनी कठघरामा ल्याउँछौँ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका हुन् । पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको उनले उल्लेख गरेका छन् ।

गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई दिने गरेको प्रवृत्तिप्रति आफू सचेत रहेको गुरुङले बताएका छन् ।

उनले सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिँदै गुरुङले त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्