images
images

किसानका समस्यादेखि विकास निर्माणसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको उचित मूल्य, मलखाद र सिँचाइको व्यवस्था तथा विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबारको बैठकमा सांसदहरूले झापामा जङ्गली हात्तीका कारण किसानले भोग्नुपरेको समस्या, राजविराजमा किसानलाई जुत्ताको माला लगाइएको घटना र धानको मूल्य निर्धारण भए पनि सरकारी गोदामले हाइब्रिड धान खरिद गर्न सुरु नगरेको विषय उठाएका हुन्।

सांसदहरूले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउने व्यवस्था गर्न र कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। धानको मूल्य तोकिए पनि खरिद प्रक्रिया अघि नबढ्दा किसान प्रभावित भएको उनीहरूको भनाइ थियो।

बैठकमा विकास निर्माणका योजना बनाउँदा समयसीमा, जनघनत्व र भौगोलिक अवस्थालाई प्राथमिकता दिनुपर्ने विषय पनि उठ्यो। किशोरीहरूले महिनावारीका कारण विद्यालय छाड्नुपर्ने बाध्यता अन्त्य गर्न आवश्यक व्यवस्था मिलाउन सांसदहरूले माग गरे।

त्यस्तै, राष्ट्रिय ढुकुटीको आम्दानी बढाउने उपाय खोज्न, सङ्खुवासभाको चैनपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन र सरकारी खरिद प्रणालीलाई पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराइएको थियो।

सांसदहरूले पशु कल्याणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, सुर्खेतमा मिथेन ग्यास उत्पादन सुरु गर्नुपर्ने तथा विपद्मा परेका नागरिकका समस्या सम्बोधन गर्नुपर्ने मागसमेत राखेका थिए।

शून्य समयमा सांसद डा. अच्युतम् लामिछाने, अनुष्का श्रेष्ठ, अप्सना बानु, अमृता विक, अरविन्द साह, डा. अर्जुनकुमार कार्की, अशोककुमार चौधरी, आरेन राई, आशा झा, आशिका तामाङ, इन्दिरा रानामगर, यशोदा कुमारी बराललगायतले विभिन्न विषयमा धारणा राखेका थिए।

त्यस्तै, अमृता ठाकुर, कन्हैया बनिया, कमल सुवेदी, करिष्मा कठरिया, कामिनी कुमारी, कविन्द्र बुर्लाकोटी, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, कृपाराम राना, कृष्णहरि बूढाथोकी, केपी खनाल, क्रान्तिशिखा धिताल, खड्कबहादुर बुढा, खिमा विक, खुश्बु ओली, खेमराज कोइरालालगायत सांसदले पनि विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

गजला समिम मिकरानी, गणेश कार्की, गणेश धिमाल, गणेश पौड्याल, गणेशबहादुर विश्वकर्मा, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गोविन्द पन्थी, गङ्गा छन्त्याल, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाल र चन्दनकुमार सिंहले पनि जनसरोकारका विभिन्न विषय उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्