images
images

एमालेमा ओलीको आग्रह– ‘सानातिना मतभेद बिर्सेर एकजुट बनौँ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप मजबुत बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई बुधबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले संगठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

उनले पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताए । “शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा संकल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ”, ओलीले भने ।

एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए । विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए । निर्वाचनलाई केन्द्रमा राखेर संगठन परिचालन गर्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए ।

एउटा निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै ओलीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरणसमेत प्रस्तुत गरे । “हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ”, उनले भने ।

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको दाबी गर्दै ओलीले सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीले पनि प्रभावकारी उपस्थिति जनाउनुपर्ने बताए । पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढङ्गले पुर्‍याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

उनले आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर संगठन निर्माण, जनसम्बन्ध विस्तार र पार्टी अनुशासनमा ध्यान दिनसमेत नेता–कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्