images
images

राष्ट्रसङ्घमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले राष्ट्रिय हित प्रवर्द्धनसँगै नेपालको कूटनीतिक छवि बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासभाका विभिन्न बैठक, द्विपक्षीय भेटवार्ता र छलफलमा नेपालका प्राथमिकता र राष्ट्रिय सरोकारका विषय स्पष्ट रूपमा उठाइएको बताए ।

उनका अनुसार महासभाका क्रममा नेपालका तर्फबाट प्रस्तुत धारणा र प्रस्तावप्रति विश्व समुदाय सकारात्मक देखिएको छ ।

“संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ सत्रका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा गर्नुभएको सम्बोधन तथा मैले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा गरेको सहभागिता र छलफलबाट एकातर्फ नेपालको कूटनीतिक छवि उच्च भएको छ । नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक देखिनु देशका लागि खुसीको विषय हो”, मन्त्री खनालले भने ।

महासभामा सहभागी हुने क्रममा ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ता भएको जानकारी दिँदै उनले ती भेटवार्ताले नेपालका विभिन्न मुलुकसँगको कूटनीतिक सम्बन्ध थप मजबुत बनाउन सहयोग पुगेको बताए ।

आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाउँदै राष्ट्रिय हित प्रवर्द्धन गर्न स्पष्ट आधार तयार भएको उनको भनाइ छ ।

मन्त्री खनालले यसपटकको महासभामा नेपालले जलवायु न्यायसहितका विषयलाई प्राथमिकताका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएको बताए । भोटेकोशीमा आएको विनाशकारी बाढी, जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असर तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा नेपालले स्पष्ट धारणा राखेको उनले बताए ।

प्रधानमन्त्री शाहले महासभामा गरेको सम्बोधनमा जलवायु परिवर्तन र त्यसले नेपालजस्ता प्रभावित मुलुकमा पारेको असरबारे स्पष्ट रूपमा कुरा राखेको पनि मन्त्री खनालले उल्लेख गरे ।

“प्रधानमन्त्रीज्यूले महासभामा सम्बोधन गर्नुभन्दा अघि पनि देशभित्र र बाहिर उत्तिकै चासो थियो । उहाँको सम्बोधनपछि पनि त्यसप्रति विश्वको चासो रहेको स्पष्ट देखियो । राष्ट्रसङ्घीय महासभामा यसपटकका सम्बोधनहरूमध्ये अहिले सबैभन्दा बढी हेरिनेमा यो परेको छ”, उनले भने ।

नेपालको अवस्था र जलवायु परिवर्तनका कारण परेको प्रभावबारे प्रधानमन्त्री शाहले महासभामा तथा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्च र भेटवार्तामा धारणा राखेको मन्त्री खनालले बताए ।

“हामीले महासभामा सहभागिताका क्रममा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेर फर्केका छौँ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्