कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले एसियाकै दोस्रो लामो मानिने दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति पुगेपछि आवतजावत ठप्प भएको छ ।
महाकाली नदीको बहाव बढेसँगै पुलको एउटा पिल्लर भाँचिएको हो । पिल्लर भाँचिएपछि पुलको करिब छ मिटर भागमा क्षति पुगेको र आवतजावत पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार पुलको दोधारातर्फको भाग उठेपछि पैदल आवतजावतसमेत जोखिमपूर्ण बनेको छ । पुलमा थप क्षति हुन नदिन तथा घटनास्थलको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
“झोलुङ्गे पुलको दोधारातर्फको पाँच–छ मिटरबीचको भागमाथि उठी आवतजावतमा समस्या भएको र पुलको पिल्लर भाँचिन गई बाटो अवरोध भएको छ”, रावतले भने, “सो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ।”
महाकालीको पानीको तीव्र बहावका कारण आज बिहान पिल्लर भाँचिएको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले बताए । उनका अनुसार पुलको अवस्था निरीक्षण गर्न प्राविधिक टोली बोलाइएको छ ।
“आज बिहान पानीको बेगले पिल्लर भत्किएको थियो”, उनले भने, “पिल्लर भत्किएपछि आवागमन रोकिएको छ।”
करिब दुई दशकअघि निर्माण भएको यो झोलुङ्गे पुल सञ्चालनमा आएपछि दोधारा–चाँदनी क्षेत्रलाई जिल्लाको मुख्य भूभागसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको थियो । पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावतमा समस्या भएको छ ।
प्राविधिक टोलीको निरीक्षणपछि पुल मर्मतका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्