राप्ती नदीमा निर्माण गरिएको पक्की तटबन्धले बाँकेका तटीय क्षेत्रका बस्ती र खेतीयोग्य जमिनलाई बाढी तथा कटानबाट जोगाउन थालेको छ । वर्षौँदेखि नदीको कटान र डुबानको जोखिममा रहेका बस्तीमा तटबन्ध निर्माणपछि स्थानीयवासीमा राहत र भरोसा बढेको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले राप्ती नदी नियन्त्रणका लागि राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा तटबन्ध निर्माण गर्दै आएको छ । तीन किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएपछि सयौँ बिघा खेतीयोग्य जमिन र हजारौँ स्थानीयको बसोबास सुरक्षित भएको आयोजनाले जनाएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही, दाङका आयोजना प्रमुख निश्चल छत्कुलीका अनुसार गत आर्थिक वर्षमा बाँकेका विभिन्न जोखिमयुक्त क्षेत्रमा तीन हजार १५० मिटर पक्की र ४०० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको थियो ।
गत आवमा राप्तीसोनारी गाउँपालिका–२ कचनापुरमा एक हजार २०० मिटर, वडा नं ५ बिनौनामा एक हजार ३०० मिटर, वडा नं ७ खल्ला झगडियामा ५०० मिटर र वडा नं ६ ढलैयामा १५० मिटर पक्की तटबन्ध निर्माण गरिएको छ ।
तटबन्ध निर्माणपछि यस वर्ष राप्तीसोनारी–२ का कचनापुर, महादेवा र मदुई, वडा नं ६ को फत्तेपुर, वडा नं ७ को खल्ला झगडिया तथा नरैनापुर गाउँपालिकाका वडा नं ५ र ६ अन्तर्गतका बस्ती बाढीको जोखिमबाट जोगिएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख छत्कुलीका अनुसार गत आर्थिक वर्षमै राप्तीसोनारीको जरैयामा बाँसको माइलिङ र चचरी प्रविधिबाट करिब ४०० मिटर अस्थायी नदी नियन्त्रणको काम पनि गरिएको थियो ।
“यो वर्ष पनि हामीले काम सुरु गरिसकेका छौँ, तटबन्धका लागि ढुङ्गा जम्मा गर्ने काम भएको छ”, छत्कुलीले भने, “गत वर्ष निर्माण सम्पन्न भएको पक्की तटबन्धले यो वर्ष गाउँबस्ती सुरक्षित भएका छन् ।”
तटबन्ध निर्माणअघि राप्तीसोनारीको खल्ला झगडिया, देउपुर्वा तथा नरैनापुरका गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा र कुडुवालगायतका बस्ती राप्ती नदीको उच्च जोखिममा थिए । सामान्य वर्षा हुँदा पनि नदी बस्तीमा पस्ने डरले स्थानीयवासी रातभर जाग्राम बस्नुपर्ने अवस्था थियो ।
तर, यस वर्ष निर्माण भएका पक्की तटबन्धले नदीको बहावलाई बस्तीबाट सुरक्षित दूरीमा राख्न सहयोग गरेपछि अवस्था फेरिएको स्थानीयको भनाइ छ ।
राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले पछिल्लो समय परेको भारी वर्षा र राप्तीमा आएको बाढीका बाबजुद तटबन्धका कारण आसपासका बस्ती सुरक्षित रहेको बताए ।
“खल्ला झगडियामा निर्माण भएको ५०० मिटरको स्थायी तटबन्धले केही दिनअघिको ठूलो वर्षा र बाढीमा पनि किनारका धेरै गाउँलाई जोगाएको छ”, उनले भने, “पहिले पानी पर्नेबित्तिकै भागाभाग हुन्थ्यो, अब भने नदी किनारका बासिन्दामा रातभर जाग्राम बस्नुपर्ने बाध्यता हट्दै जाने ठूलो आशा पलाएको छ ।”
विगतमा निर्माण गरिएका तटबन्धले सकारात्मक परिणाम दिएपछि आयोजनाले चालु आर्थिक वर्षमा पनि नदी नियन्त्रणको कामलाई निरन्तरता दिएको छ । आयोजना प्रमुख छत्कुलीका अनुसार नयाँ चरणका तटबन्ध निर्माणका लागि अहिले निर्माणस्थलमा ढुङ्गा सङ्कलनलगायत प्राविधिक तयारी भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्