images
images

राजदूत श्रीवास्तवसँग बिदाइ भेटमा प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध प्रगाढ छ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।

मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको बिदाइ भेटमा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धका विभिन्न पक्षबारे चर्चा गरेका हुन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका थिए ।

भेटका क्रममा प्रधानमन्त्री शाहले हालै नेपालमा आएको बाढीपहिरोलगायत विपद्का समयमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी यात्राका लागि शुभकामनासमेत दिए ।

राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराए । नेपाल बसाइका क्रममा नेपाल सरकार तथा नेपाली नागरिकबाट प्राप्त सहयोगका लागि उनले धन्यवाद व्यक्त गरे ।

भेटमा दुई देशबीचको पारस्परिक सम्बन्ध, सहकार्य तथा आगामी दिनमा निरन्तरता पाउने सहयोगका विषयमा समेत छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्