images
images

भीआईपी पक्राउबारे प्रचण्डको चेतावनी– सरकारलाई ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम दोहोरिए सरकारलाई ठूलो राजनीतिक मूल्य चुकाउनुपर्ने बताएका छन्।

सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्ला घटनाप्रति टिप्पणी गर्दै सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत राखेको भए त्यो सरकारकै लागि घातक हुने बताए।

उनले यस्ता घटना दोहोरिन नहुने भन्दै सरकारलाई सचेत गराए। पछिल्ला पक्राउलाई ‘सुरक्षा थ्रेट’ को कारण देखाइएकोप्रति पनि प्रचण्डले प्रश्न उठाए।

‘सुरक्षा थ्रेट थियो भने घरमै सुरक्षाकर्मी बढाइदिनुपर्थ्यो,’ उनले भने, ‘पक्राउ गर्नुपर्ने अवस्था किन आयो भन्ने कुरा विस्तारै तथ्यबाट स्पष्ट हुँदै जान्छ।’

प्रचण्डले सुरक्षा चुनौतीलाई पक्राउको आधार बनाउनु उपयुक्त नभएको जिकिर गर्दै सरकारले घटनाको स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने बताए।

यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनबारे प्रचण्डले स्वाभाविक प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट राख्नुपर्ने विषय नै उठाएको भन्दै त्यसलाई लिएर अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको उनको भनाइ थियो।

‘प्रधानमन्त्रीले अहिले जे बोल्नुपर्थ्यो, त्यही लाइनमा बोलेका छन्। प्रधानमन्त्रीको ठाउँमा अरू कोही भएको भए पनि त्यही कुरा बोल्थ्यो,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्