images
images

१२ घण्टा प्रहरी नियन्त्रणपछि रिहा भएका जबराले असुरक्षित महसुस भएको भन्दै प्रहरी गुहारे

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती रहेको भन्दै थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसँग माग गरेका छन्।

जबराका छोरा सचिन्द्र शमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै निवास र परिवारको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइदिन आग्रह गरेका हुन्। निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका सुरक्षा सम्बन्धी विषयका कारण परिवारले असुरक्षित महसुस गरेको उल्लेख छ।

जबराले विगतमा न्यायपालिकाको प्रमुखका रूपमा गरेका विभिन्न न्यायिक निर्णयका कारण आफूलाई थप सुरक्षा चुनौती रहेको दाबी गरेका छन्। राज्यका विभिन्न निकायमा जिम्मेवारी सम्हालेका कारण आफ्नो विवरण सुरक्षा निकायलाई पहिल्यै जानकारी रहेको उल्लेख गर्दै उनले आफ्नो, परिवार र निवासको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

यसअघि जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले उनलाई पक्राउ नभई सुरक्षाका लागि नियन्त्रणमा लिएर कार्यालयमा ल्याइएको दाबी गरेको थियो। करिब १२ घण्टा प्रहरी नियन्त्रणमा रहेपछि उनी मुक्त भएका थिए।

रिहा भएपछि जबराको तर्फबाट सुरक्षा माग गर्दै प्रहरीमा निवेदन परेको हो। पछिल्लो घटनाक्रमपछि जबराको सुरक्षालाई लिएर प्रहरीसमक्ष औपचारिक आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्