images
images

यूएनमा समेत बालेन क्रेज : महासभामा गरेको भाषणले बनायो धेरै हेरिने रेकर्ड

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गरेको सम्बोधनले संयुक्त राष्ट्र सङ्घको आधिकारिक युट्युब च्यानलमा धेरै हेरिने विश्व नेताको भाषणको रेकर्ड बनाएको छ ।

संयुक्त राष्ट्र सङ्घले आफ्नो आधिकारिक युट्युब च्यानलमा राखेका महासभाका विभिन्न सम्बोधनमध्ये प्रधानमन्त्री शाहको भाषणले सबैभन्दा धेरै भ्युज पाएको हो । यो समाचार तयार पार्दासम्म उनको सम्बोधनको भिडियोले ४ लाख ५० हजारभन्दा बढी भ्युज पाएको छ ।

न्युयोर्कमा आयोजित महासभामा विश्वका १९३ सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी भएका थिए । उनीहरूले महासभामा आ–आफ्ना देशका धारणा र प्राथमिकता प्रस्तुत गरेका थिए ।

नेपालका तर्फबाट प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्दै जलवायु परिवर्तन, नेपालले भोगिरहेको विपद्को अवस्था, विकास, अन्तर्राष्ट्रिय सहकार्यलगायत विषय उठाएका थिए ।

संयुक्त राष्ट्र सङ्घको युट्युब च्यानलमा राखिएका भिडियोको भ्युजअनुसार प्रधानमन्त्री शाहको सम्बोधनले अन्य प्रभावशाली राष्ट्रका नेताहरूको सम्बोधनलाई समेत पछि पारेको दाबी गरिएको छ । यसमा सामाजिक सञ्जालमा पुनःप्रसारण भएका भिडियो तथा अन्य माध्यममा सार्वजनिक भएका सामग्रीको भ्युज भने समावेश गरिएको छैन ।

प्रधानमन्त्री शाहको सम्बोधनलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक चर्चा भइरहेको छ । महासभामा नेपालको प्रधानमन्त्रीको सम्बोधनले डिजिटल मञ्चमा पाएको दर्शकको सङ्ख्याले अन्तर्राष्ट्रिय चासोसमेत देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्