images
images

कालीगण्डकीको बाढीले पर्वतमा ठूलो क्षति, ८० घर बगे

पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । सशस्त्र प्रहरीका अनुसार बाढीले बस्तीका करिब ८० घर बगाएको छ ।

शनिबार रातिदेखि कालीगण्डकीको बहाव बढ्दै गएपछि बाढी बस्तीमा पस्न थालेको थियो । बाढीको जोखिम बढेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा गएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको टोलीले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । घरमा रहेका जिन्सी सामानसमेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

बाढीबाट अहिलेसम्म मानवीय क्षति भए–नभएको यकिन हुन सकेको छैन । प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनुका साथै फोन सम्पर्कमा समेत समस्या भएकाले क्षतिको थप विवरण संकलनमा कठिनाइ भएको छ ।

कालीगण्डकीको बहाव अझै बढिरहेकाले आसपासका अन्य घर तथा बस्तीसमेत उच्च जोखिममा रहेका छन् । सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा उद्धार तथा खोजीको काम जारी राखेका छन् ।

यसैबीच, स्थानीय जनप्रतिनिधि तथा अन्य स्रोतहरूले फर्से क्षेत्रमा २० देखि २५ घर बगेको विवरणसमेत दिएका छन् । बाढीको बहाव बढिरहेकाले क्षतिको यकिन विवरण संकलन भएपछि मात्रै घरको संख्या स्पष्ट हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्