काठमाडौं । लोकप्रिय गायिका शान्तिश्री परियारको आफ्नै लगानीमा तयार भएको यस वर्षको तीज गीत ‘बवार्दै पार्यो’ सार्वजनिक भएको छ। तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको राम्रो साथ पाउन थालेको छ।
शान्तिश्रीले हरेक वर्ष तीज पर्वका अवसरमा नयाँ गीत सार्वजनिक गर्दै आएकी छन्। सोही परम्परालाई निरन्तरता दिँदै यसपटक पनि उनले तीज गीत ‘बवार्दै पार्यो’ लिएर दर्शकमाझ आएकी हुन्। गीत सार्वजनिक भएको दुई दिनमै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।
‘बवार्दै पार्यो’मा शान्तिश्री परियार र अर्जुन सापकोटाको स्वर रहेको छ। गीतको लय अर्जुन सापकोटाले तयार गरेका हुन् भने शब्द सिर्जना सन्तोष सापकोटाको रहेको छ। गीतको संगीत संयोजन श्यामश्वेत रसाइलीले गरेका छन्।
शान्तिश्रीका यसअघिका तीज गीतले पनि दर्शकको राम्रो साथ पाउँदै आएका छन्। विशेषगरी ‘अरेली काँडैले च्वास्सै’ चर्चित तीज गीतका रूपमा स्थापित भएको थियो। त्यसपछि यसपटक ‘बवार्दै पार्यो’मार्फत उनले तीजको सांगीतिक यात्रालाई निरन्तरता दिएकी छन्।
गीतको म्युजिक भिडियो पनि आकर्षक र मनोरञ्जनात्मक बनाइएको छ। भिडियोमा सुनिल विकसँगै प्रकाश सपुत, अञ्जली अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन्।
शान्तिश्रीकै आफ्नै लगानीमा तयार भएको गीत तथा भिडियो उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत यसको चर्चा बढ्दै गएको छ। यसले शान्तिश्रीको तीज गीतप्रतिको निरन्तरता र दर्शकमाझ उनको लोकप्रियतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्