काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङ, नुवाकोट र रसुवाको सडक सञ्जाललाई नराम्ररी प्रभावित बनाएपछि अहिले सरकारको मुख्य ध्यान अवरुद्ध सडक खुलाउने र बगेका पुलको विकल्प खोज्नेमा केन्द्रित भएको छ।
बाढीले सडक मात्र होइन, नदीमाथिका पुलसमेत बगाएपछि गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा यातायात सञ्चालन चुनौतीपूर्ण बनेको छ। सडक विभागका अनुसार बाढीबाट करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। तर क्षतिग्रस्त संरचना तत्कालै पुनर्निर्माण गर्न सम्भव नभएपछि विभागले अहिले नयाँ ट्रयाक खोल्ने, अस्थायी सडक बनाउने र बेलिब्रिजमार्फत सडक सञ्जाल जोड्ने रणनीति अघि सारेको छ।
पुल बगेपछि बेलिब्रिजको भर
नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पक्की पुल बगाएपछि अहिले त्यहाँ ६० मिटर लामो एक्रो ब्रिज जडान गर्न थालिएको छ। पुलको सिभिल संरचना सडक विभागले निर्माण गरिरहेको छ भने जडानको प्राविधिक जिम्मेवारी नेपाली सेनाले सम्हालेको छ।
भदौ १० गते आएको बाढीले करिब ५५ मिटर लामो पक्की पुल बगाएको स्थानमै नयाँ पुल जडान गर्न लागिएको हो। देवीघाटमा पुल सञ्चालनमा आएपछि रसुवा जाने सडक सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।
यस्तै त्रिशूली बजार र बेत्रावतीमा पनि करिब ४८–४८ मिटरका बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
सडक विभागले तत्काल तीन स्थानमा बेलिब्रिज जडान गरेर अवरुद्ध सडकलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउने योजना बनाएको छ।
स्याफ्रुबेँसीमा ७५ मिटरको पुल चुनौती
रसुवाको स्याफ्रुबेँसीमा पनि बाढीले पुल बगाएपछि करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक परेको छ।
विभाग र नेपाली सेनासँग बेलिब्रिज उपलब्ध भए पनि अहिले मुख्य समस्या पुलको सामग्री क्षतिग्रस्त स्थानसम्म कसरी पुर्याउने भन्ने बनेको छ। सडक खुलेपछि तत्काल सामग्री पुर्याएर पुल जडान सुरु गर्ने तयारी छ।
यसैबीच चीन सरकारले कोराला नाकामा बेलिब्रिजका सामग्री उपलब्ध गराएको छ। ती सामग्री आवश्यकताअनुसार रसुवागढी वा अन्य क्षतिग्रस्त क्षेत्रमा ल्याएर प्रयोग गर्ने सरकारको तयारी छ।
बाटो खोल्न खोज्दा स्थानीयसँगै अर्को समस्या
बाढीपछि सडकमा थुप्रिएको लेदो र गेग्रानले पुरानो सडकबाट तत्काल यातायात सञ्चालन गर्न कठिन भएको छ। कतिपय स्थानमा ३ देखि ४ मिटरसम्म लेदो र गेग्रान थुप्रिएको सडक विभागले जनाएको छ।
त्यसैले विभागले पुरानो सडक सफा गर्नुको सट्टा तत्कालका लागि वैकल्पिक ट्रयाक खोलेर बेत्रावतीसम्म सडक जोड्ने योजना बनाएको छ।
तर विदुर नगरपालिका–१० मा भने स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेको छैन। खेतको बाटो प्रयोग गरेर अस्थायी ट्रयाक खोल्ने विभागको तयारीमा स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने अडान राखेका छन्।
विवाद समाधान भए दुई दिनभित्र बेत्रावतीसम्म सडक जोड्ने विभागको लक्ष्य छ। बेत्रावतीसम्म पहुँच खुलेपछि धुन्चेसम्मको यात्रा पनि सहज बन्ने अपेक्षा गरिएको छ।
कृष्णभीरमा पहाड काटेर बाटो निकालिँदै
यता पृथ्वी राजमार्गको कृष्णभीरमा पनि बाढीले सडक कटान गरेपछि पुरानो सडकलाई मर्मत गर्नुभन्दा पहाडको भित्तो काटेर नयाँ ट्रयाक निकाल्ने काम भइरहेको छ।
नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक परामर्शमा ५.५ देखि ८ मिटरसम्म चौडाइको ट्रयाक निर्माण भइरहेको छ। अहिलेसम्म २५२ मिटर ट्रयाक खन्ने काम पूरा भइसकेको छ।
अब केही दिनको मर्मतपछि उक्त अस्थायी सडकबाट सवारी सञ्चालनमा ल्याउने सडक विभागको तयारी छ।
यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि आज सवारी आवागमन पूर्ण रूपमा रोकेर मर्मतको काम भइरहेको छ।
बाढीले सडक र पुलको संरचना ध्वस्त बनाए पनि अहिले चुनौती पुनर्निर्माणभन्दा पहिले ‘कसरी सडक सम्पर्क जोड्ने?’ भन्ने बनेको छ। त्यसैका लागि सरकार नयाँ ट्रयाकदेखि बेलिब्रिजसम्मका अस्थायी विकल्पमा केन्द्रित भएको छ।















प्रतिक्रिया दिनुहोस्