images
images

नोबेल पिस कन्फेरेन्समा रक्षा बमले के भनिन्?

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले नर्वेको ओस्लोमा आयोजित नोबेल पिस कन्फेरेन्समा नेपालले भोगिरहेको बाढीपहिरो, जलवायु संकट र त्यसबाट सिर्जित मानवीय संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन्।

सम्मेलनमा जेनजी आन्दोलन र नेपालको पछिल्लो अवस्थाबारे धारणा राख्दै बमले केही दिनअघि नेपालका हिमाली तथा पहाडी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको बताइन्।

उनका अनुसार विपद्का कारण एक हजारभन्दा बढी मानिसको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता र छ हजारभन्दा बढी घरपरिवार प्रभावित भएका छन्। यसबाट १७ हजारभन्दा बढी बालबालिका समेत प्रभावित भएको उनले बताइन्।

म अहिले ओस्लोमा तपाईंहरूसामु उभिएर बोलिरहँदा पनि मेरो देशमा आएको विपद् अझै सकिएको छैन,’ बमले भनिन्।

नेपालमा विपद्का कारण कतिपय परिवारले आफ्ना प्रियजनको शवसमेत प्राप्त गरिरहेको र कतिपय परिवार अझै बेपत्ता आफन्तको खोजीमा रहेको उनले बताइन्।

ओस्लोमा लोकतन्त्र र मानवताको भविष्यबारे भइरहेको बहस तथा नेपालमा जनताले भोगिरहेको वास्तविकताबीच ठूलो दूरी रहेको उनको भनाइ थियो।

‘कार्बनसँग पासपोर्ट हुँदैन’

बमले जलवायु परिवर्तनका कारण नेपालका हिमाल तथा हिमनदीहरू तीव्र रूपमा पग्लिरहेको उल्लेख गर्दै विश्व समुदायलाई जलवायु न्यायको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरिन्।

कार्बनसँग पासपोर्ट हुँदैन। यो कुनै सीमामा रोकिन्न। हामी एउटै वायुमण्डल र एउटै आकाश साझा गर्छौँ,’ उनले भनिन्।

उनले जलवायु संकटका असरहरू कुनै देशको सीमाभित्र मात्र सीमित नरहने भएकाले जिम्मेवारी पनि सीमित हुन नहुने बताइन्।

यदि हाम्रा कार्यका परिणामहरू सीमामा रोकिँदैनन् भने हाम्रा जिम्मेवारीहरू पनि सीमामा रोकिनु हुँदैन।

जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने विकसित तथा औद्योगिक मुलुकहरूले त्यसको असरबाट बढी प्रभावित नेपालजस्ता देशप्रति जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

‘दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ’

बमले नेपाललाई अहिले अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहे पनि त्यसलाई दानका रूपमा बुझ्न नहुने स्पष्ट पारिन्।

म दान मागिरहेकी छैन। हामी दान मागिरहेका छैनौँ। हामी न्याय र क्षतिपूर्ति मागिरहेका छौँ,’ उनले भनिन्।

उनले जलवायु परिवर्तनबाट कम योगदान गरेका तर त्यसको असर सबैभन्दा बढी भोगिरहेका देशका नागरिकप्रति अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी स्वीकार गर्नुपर्ने बताइन्।

जलवायु न्यायबिना शान्ति र लोकतन्त्र सम्भव छैन

बमले जलवायु न्यायलाई लोकतन्त्र र जवाफदेहितासँग समेत जोडिन्।

उनका अनुसार लोकतन्त्र केवल निर्वाचन र राजनीतिक अधिकारमा सीमित विषय होइन। लोकतन्त्रको वास्तविक अर्थ सबैभन्दा कमजोर र जोखिममा रहेका मानिसहरूको संरक्षण गर्नु तथा जिम्मेवार पक्षलाई जवाफदेही बनाउनु पनि हो।

जलवायु संकटबाट प्रभावित समुदायको आवाज नसुनी शान्ति र लोकतान्त्रिक न्यायको कुरा पूरा नहुने उनको तर्क थियो।

‘जलवायु न्यायबिना शान्ति सम्भव छैन, जलवायु न्यायबिना लोकतान्त्रिक न्याय पनि सम्भव छैन,’ भन्ने सन्देशसहित उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालजस्ता जलवायु जोखिममा रहेका देशप्रति जिम्मेवार बन्न आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्