काठमाडौं । सरकारले भदौ २३ गते ‘जेनजी सहिद दिवस’का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै, रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णयसमेत सरकारले गरेको छ।
बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन सरकारले एकीकृत व्यावसायिक पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायत अन्य सहुलियत सुविधा प्रदान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।
यस्तै, बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको छ। उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको छ।
बैठकका निर्णयबारे शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।














प्रतिक्रिया दिनुहोस्