काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवा बाढीबाट उत्पन्न विपत्तिमा सहयोग गर्न सक्ने सबैलाई सहयोगमा जुट्न आह्वान गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न नसक्नेहरूले पनि कम्तीमा कटु वचन नबोल्न आग्रह गरेका छन्।
‘मेरो एउटा अनुरोध छ– सहयोग गर्न सक्ने सहयोगमा जुटौं। सहयोग गर्न सक्दैनौं भने पनि कम्तीमा कटु वचन कसैले नबोलौं,’ उनले भनेका छन्।
थापाले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेको विपत्तिको अवस्था, खोज तथा उद्धारका प्रयास र प्रभावित नागरिकका गुनासाबारे भिडियोमार्फत जानकारी दिएका छन्।
केही दिनअघि रसुवा बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका थापाले विपत्तिको वास्तविक अवस्था बाहिरबाट अनुमान गर्न कठिन रहेको बताए।
‘यो यति ठूलो प्रलय, यति ठूलो विपत्ति हो कि यति धेरै घरबार उजाड गरेको छ, यति धेरै परिवार, मानिसहरू प्रभावित हुनुभएको छ, तल फिल्डमा गइसकेपछि अझ थाहा हुन्छ,’ उनले भने, ‘त्यो आकलन नै गर्न सकिँदैन बाहिरबाट हेर्दै गर्दा के भएको छ त्यहाँ भनेर। नाप्नै सकिँदैन।’
विपत्तिको समयमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिँदै थापाले पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएका विषय समेटेर विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए।
‘पार्टीको तर्फबाट तल फिल्डमा गएर हामीले जे–जे कुरा देखेका छौं, सबै कुराको आधारमा सरकारले गर्नुपर्ने, ‘नेक्स्ट फेज’मा हामीले गर्नेलगायत विषयका सन्दर्भमा डिटेल रिपोर्ट बनाएर सार्वजनिक गर्ने नै छौं,’ उनले भने।
थापाले बाढी प्रभावित क्षेत्रमा स्थानीय तह र प्रदेश सरकारले गरिरहेको कामको समेत प्रशंसा गरेका छन्।














प्रतिक्रिया दिनुहोस्