काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको भोटेकोशी बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
प्राधिकरणका अनुसार बाढीमा परी २६७ जना घाइते भएका छन् भने चार हजार ३४७ जना अझै सम्पर्कविहीन छन्। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाढी तथा पहिरोमा फसेका हालसम्म १० हजार ४५९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेनाले हेलिकप्टरमार्फत तीन हजार ३४४ नेपाली नागरिक र २५२ विदेशी नागरिकको उद्धार गरेको छ। उद्धारका लागि हालसम्म ४११ वटा हवाई उडान गरिएको जनाइएको छ।
सरकारले मुख्य प्रभावित जिल्लाका रूपमा रसुवालाई एक करोड रुपैयाँ, नुवाकोटलाई एक करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। साथै प्रभावित १५ वटा स्थानीय तहलाई कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कामसमेत निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्