images
images

पहिरोले बनाएको तालको पानी सकियो, नेपालतर्फको जोखिम टर्‍यो

काठमाडौं । नेपालसँग सीमा जोडिएको तिब्बत क्षेत्रमा पहिरोका कारण बनेको अस्थायी ताल (ब्यारियर लेक) पूर्ण रूपमा खाली भएको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ।

चीनको ग्यिरोङ काउन्टीमा नेपालतर्फको छोछेन खोला र चीनतर्फको प्युरेपु त्साङ्पो नदीको संगम नजिक पहिरोले नदीको बहाव अवरुद्ध गरेपछि उक्त ताल बनेको थियो।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। त्यसपछि पानी तालबाट बाहिरिन थालेको थियो।

मन्त्रालयले परिचालन गरेको जलविज्ञान आपत्कालीन अनुगमन टोलीको पछिल्लो विवरणअनुसार अहिले उक्त तालबाट पानी सामान्य प्राकृतिक बहावमार्फत निस्किरहेको छ। तालमा जम्मा भएको पानी लगभग पूर्ण रूपमा खाली भइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

तालमा जम्मा भएको पानी खाली भएसँगै यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम कम भएको बताइएको छ। चिनियाँ अधिकारीहरूले भने क्षेत्रको जलप्रवाह तथा अवस्थाको निगरानीलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्