images
images

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका छिट्टै सार्वजनिक गर्ने शशांक कोइरालाको घोषणा

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले पन्ध्रौँ महाधिवेशनको कार्यतालिका छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अस्वीकार गर्दै आएका कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै वैधानिक भएकाले उसैले पन्ध्रौँ महाधिवेशन गराउने दाबी गरेका हुन्।

शनिबार विज्ञप्ति जारी गर्दै कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे पनि महाधिवेशनसम्बन्धी गतिविधि रोक्न माग गरिएको निवेदनमा सर्वोच्चबाट रोक आदेश नआएको उल्लेख गरेका छन्।

उनका अनुसार चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो वैधानिक दायित्व पूरा गर्दै पन्ध्रौँ महाधिवेशनको प्रक्रिया पुनः अघि बढाउनेछ। त्यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति र निर्वाचन समिति गठनलगायतका काम अघि बढाइने उनले बताएका छन्।

कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई ‘स्वघोषित कार्यसमिति’को संज्ञा दिँदै उक्त पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशनका गतिविधिमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। उनले चौधौँ महाधिवेशनबाट निर्वाचित ‘वैधानिक कार्यसमिति’ले गर्ने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न पनि अपील गरेका छन्।

विज्ञप्तिमा कांग्रेसभित्रको विवादलाई थप गहिरो बनाउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै कोइरालाले संयमता, धैर्यता र हार्दिकताका साथ पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई समेत ध्यानमा राख्दै बलियो र सक्षम कांग्रेस निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

यसैबीच, रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार र राहतमा जुट्न पनि कोइरालाले पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन्। बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले पीडितका लागि सुरक्षित आवास, उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

उनले विपद्को समयमा राजनीतिक दल, भ्रातृ तथा शुभेच्छुक संस्था, निजी क्षेत्र, उद्योगी–व्यवसायी, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत सहयोगका लागि अपील गरेका छन्।

प्रतिक्रिया दिनुहोस्