काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ।
बुधबार आएको बाढीका कारण नदी किनारका क्षेत्रमा ठूलो क्षति पुगेपछि पीडित परिवारलाई सहयोग गर्न प्रशासनले राहत सामग्री संकलनको पहल थालेको हो।
प्रशासनले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी, क्लब तथा इच्छुक व्यक्ति र समुदायलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य आवश्यक घरायसी सामग्री संकलन गरी सहयोग गर्न आग्रह गरेको छ।
संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा एकद्वार प्रणालीमार्फत जम्मा गरिनेछ। त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा ती सामग्री बाढीपीडितसम्म पुर्याइने प्रशासनले जनाएको छ।
त्यस्तै, नगद सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा उपलब्ध क्यूआरमार्फत सिधै रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रशासनले विपद्को यस घडीमा बाढीपीडितको राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्न सबैमा अपिल गरेको छ।















प्रतिक्रिया दिनुहोस्